काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताउनुभएको छ ।

नेपालको संविधान दिवसका अवसरमा जारी गर्नुभएको विज्ञप्तिमा व्लिन्केनले अमेरिकी सरकार र अमेरिकी जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई बधाई दिँदै विगत वर्षमा दुई देशले साझा चुनौतीको सामना गर्न सहकार्य गरेको स्मरणसमेत गर्नुभएको छ ।

साथै उहाँले कोरोना भाइरसविरुद्धको लडाइँ र जलवायु परिवर्तनमा सँगै काम गरेको उल्लेख गर्नुभएको छ ।

व्लिकेनले आफ्नो शुभकामना सन्देशमा सम्पूर्ण नेपालीलाई शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

यसैबीच डिसीस्थित नेपाली दूतावासले समेत विविध कार्यक्रम गरी संविधान दिवस मनाउन लागेको छ ।

यस्तै, नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना व्यक्त गर्नुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पुटिनले रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको जनाउँदै विविध क्षेत्रका दुईपक्षीय सहायता अझ अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।

दुवै देशका जनताको हितमा हाम्रो सम्बन्ध अघि बढ्ने र त्यसले क्षेत्रीय सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने विश्वास पनि राष्ट्रपति पुटिनले सन्देशमा व्यक्त गर्नुभयो । उहाँले राष्ट्रपति भण्डारीको सुस्वास्थ्य सफलताका साथै नेपाली जनताको शान्ति र हितको कामना गर्नुभएको छ ।

सम्बन्धित खबरहरु