काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आज दिउँसो दुई पक्षबीच शुरु भएको विवाद उग्र हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोनमा गाउँपालिका–२ तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।

सुन्दरपुरका ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा तथा तरहारीका ५० वर्षीय रामप्रसाद यादवबीच सुन्दरपुरको मैनटोलमा विश्वकर्मा मेलामा पूजाको विषयलाई लिएर विवाद भएको थियो ।

विवादले उग्ररुप लिएपछि दुबै पक्षबीच भएको कुटाकुटमा रामप्रसाद यादव अर्धचेत भएर बाटोमै ढलेका थिए ।

त्यसको केही बेरमै उनको मृत्यु भएको स्थानीयवासीले जानकारी दिनुभयो । घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र लाश परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु