काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पुरानै व्यवस्थामा फर्किएको छ ।

यसअघि पार्टीको सांगठानिक संरचना हेरफेर गर्ने निर्णयमा पुगेको एमालेले दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद र बहुपदीय व्यवस्थामा निर्वाचन कायमै राख्ने प्रस्ताव कायम गरेको हो । यो एमालेको पुरानो व्यवस्था हो ।

आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षे उमेर हद कायमै राख्ने उल्लेख गरिएको छ ।

नवौं महाधिवेशनदेखि एमालेमा ७० वर्षको उमेर हदको व्यवस्था राखिएको थियो । तर अध्यक्ष केपी शर्मा ओली पक्ष सहभागी स्थायी कमिटी बैठकले यसअघि उमेर हदको प्रबन्ध हटाउने निर्णय गरेको थियो ।

‘उमेर हद र कार्यकारी पदमा दुई पटक भन्दा बढी दोहोरिन नपाउने प्रस्ताव कायमै रहेको श्रोतले पुष्टि गरेको छ ।

दश बुँदे सहमति कार्यान्वयनको निर्णय हुनुअघि ओली पक्षका नेतामात्रै सामेल बैठकले भने महाधिवेशनबाट पार्टी अध्यक्षमात्रै निर्वाचित हुने बाँकी पूर्ण केन्द्रीय कमिटी बनेपनि अध्यक्षबाट मनोनित हुने प्रस्ताव गरेको थियो ।

अध्यक्ष बाहेक सबै केन्द्रीय सदस्यका लागि मात्र निर्वाचनमा उठ्ने व्यवस्था एमालेले लिन खोजेको थियो ।

जसमा पदाधिकारी भने अध्यक्षले मनोनित गर्ने प्रस्ताव थियो । तर आइतबार स्थायी कमिटी बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा भने सबै पदाधिकारी महाधिवेशनबाटै निर्वाचित हुने उल्लेख गरिएको छ ।

असोजको १५ देखि १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि स्थायी कमिटी बैठकमा आइतबारदेखि छलफल शुरु भएको छ ।

उक्त प्रस्तावमाथि आइतबार उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु अमृतकुमार बोहरा, केशव बडाल र पुष्प कँडेलले टिप्पणी राखेका छन् ।

विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव माथि सोमबार पनि छलफल हुनेछ ।

 

सम्बन्धित खबरहरु