काठमाडौं । दशैंका लागि नयाँ नोट साट्न पाइने भएको छ । सोमबारदेखि सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न पाउने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था कायम गरेको जानकारी दिएको छ ।

कोरोना महामारीलाई ध्यानमा राख्दै जनस्वास्थ्यका मापदण्ड अपनाउँदै राष्ट्र बैंकले ३० देखि ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गर्ने तयारी गरेको जानकारी दिएको छ ।

राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था गर्नेछन् ।

वाणिज्य बैंकहरुले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसेकेको राष्ट्र बैंकले जानकारी दियो ।

बैंकहरुले प्रधान कार्यालय वा अन्य तोकिएका कार्यालयहरुबाट नयाँ नोट सटहीको सुविधा दिनेछन् ।

राष्ट्र बैंकले भने सोमबारदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने बताएको छ ।

साथै, केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् । राष्ट्र बैंकले १२ देखि १५ अर्ब रुपैयाँसम्म ५, १०, २०, ५० र १ सय रुपैयाँको नोटहरु वितरण गर्ने तयारी गरेको छ ।

त्यसबाहेक अन्य खर्च समेत असोज र कात्तिकमा धेरै हुने भएकाले ५ सय र १ हजार दरका नोटहरु पनि बजारमा ठूलै मात्रामा पठाइएको उहाँले बताउनुभयो । राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको थियो ।

तर, गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको भने थिएन ।

सम्बन्धित खबरहरु