काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताउनुभएको छ ।

जसपा र एमालेबाट माओवादी केन्द्रमा आउनुभएका एक दर्जन नेता तथा कार्यकर्ताको अध्यक्ष निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले माओवादी शक्तिका बीचमा एकता र सहकार्य जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबै विगतका माओवादी आन्दोलनमा रहेका साथीहरू एउटै केन्द्रमा आउने वातावरण बन्दै गएको छ । अहिले नआउने पनि केही समयपछि आउनुहुन्छ ।”

उहाँले माओवादी आन्दोलन र यसले उठाएका एजेण्डालाई राष्ट्रियरूपमा फेरि नयाँ उचाइबाट स्थापित गर्ने तथा आन्दोलन र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्ने गरी विकास गर्ने अवसर आफूहरूमा रहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “समाजवादी क्रान्तिलाई माक्र्सवादी तरिकाले अगाडि बढाउने पार्टीको रूपमा यो पार्टी र नेतृत्वका लागि अन्तिम अवसर पनि हुनसक्छ ।

एक चोटी राष्ट्रलाई झक्झक्याएर अगाडि लैजाने अवसर पनि हुनसक्छ । सकिएन भने नराम्रो स्थितिमा आन्दोलन जाने खतरा पनि छ ।

त्यसकारण सबै क्रान्तिकारीहरूले अब ढिला नगरी एकताबद्ध हुने र आत्मसमीक्षासहित जनताको घरघरमा पुग्नुपर्ने भएको छ ।”

“हिजो संसद् विघटन गरेर केपी ओलीलाई मद्दत गर्नेहरू एमसिसीमार्फत गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजान सकिन्छ कि भनेर कसरत गरिरहेका छन्”, अध्यक्ष प्रचण्डले भन्नुभयोे, “हामीले गठबन्धनमा एमसिसी र गठबन्धन कुन मुख्य हो भनेर छलफल पनि गरेका छौँ ।

गठबन्धन रक्षा नै राष्ट्र, संविधान र गणतन्त्रको हितका लागि मुख्य हो । एमसिसी परिमार्जन र संशोधनबिना पास गर्न सकिन्न र राष्ट्रिय सहमति नबनाई यस्तो डरलाग्दो कुरामा हात हाल्न पनि हुन्न ।”

फरक प्रसङगमा अध्यक्ष दाहालले आन्दोलनको विकासको क्रममा अभिभावकत्व गरिसकेपछि र त्यसलाई सिङ्गो कम्युनिष्ट पार्टी र जनताले अभिभावकको रूपमा स्वीकारेपछि त्यो आन्दोलनका कोही पनि सहयात्री दायाँबायाँ हुँदा बुझाउन र सम्हाल्न सकिएन भन्ने पीडा हुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टी प्रवेशले बलियो सन्देश दिएको छ । तपाईँहरूले जिम्मेवारीको चिन्ता नलिनु होला ।”

सम्बन्धित खबरहरु