काठमाडौं । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक नरसंहार भएको थियो ।

५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको लाश छरपस्ट अवस्थामा फेला पारिएको थियो ।

सो प्रकरणमा नयाँ खुलासा भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीलाई पक्राउ गरिसकेको छ ।

शुरुदेखि नै उनी एक्लैले उक्त घटनाघटाउन नसक्ने धेरैको बुझाई रहेको थियो । यो बीचमा उनै अभियुक्त लोकबहादुरको बयानका आधारमा अन्यको पनि संलग्नता देखिएको खुलेको हो । प्रहरीले सो घटनामा संलग्न अन्य ४ जनालाई पक्राउ गरेको छ ।

एसपी भीम दाहालका अनुसार पक्राउ पर्नेमा लोकबहादुरका बुबा रणबहादुर कार्की, भाइ नरेश कार्की, काका खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर कार्की रहेका छन् ।

अनुसन्धानबाट घटनाको मुख्य योजनाकार काका खड्गबहादुर भएको खुलेको छ ।

लोकबहादुरले प्रहरीलाई दिएको बयानमा २० गते राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र नरेश मिलेर योजना बनाएका थिए ।

२१ भदौमा तेजबहादुर खेताला बोलाउन आउने भएकाले त्यही मौकामा सिध्याउने गर्ने योजना बनेको थियो ।

उनीहरुले घटनाबारे अन्यले थाहा पाए उनीहरुलाई सिध्याउने योजना बनाएका थिए ।

घटनामा संलग्न रहेको आरोपमा स्थानीय लोकबहादुर कार्की र उनका भाइ नरेशलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो ।

सम्बन्धित खबरहरु