संविधानसभाको आजको बैठकमा पनि एकीकृत नेकपा(माओवादी)को नेतृत्वमा रहेको १९ दलीय सङ्घीय लोतकान्त्रिक गठवन्धन नेपालले विरोध र नाराबाजी गरेर संविधानसभा अवरुद्ध पार्दै ।

काठमाडौँ, ११ माघ । एकीकृत नेकपा(माओवादी) नेतृत्वको ३० दलीय मोर्चाले अहिलेको प्रक्रिया खारेज गरी विश्वासको वातावरण नबनाएसम्म संविधानसभामा सहभागी नहुने निर्णय गरेको छ ।

आज दिउँसो मोर्चाको विरोधका बाबजुद संविधानसभामा संविधान लेखनको प्रक्रिया अगाडि बढाइएपछि एमाओवादी संसदीय दलको कार्यालयमा बसेकोे मोर्चाको बैठकले प्रक्रिया खारेज नभएसम्म संविधानसभामा सहभागी नहुने निर्णय गरेको मोर्चाका संयोजकसमेत रहनुभएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिनुभयो ।

उहाँले यथास्थितिमा सत्तारुढ दल, सभामुखले बोलाएको कुनै पनि वार्ता, छलफलमा समेत मोर्चाले सहभागिता नजनाउने निर्णय गरेको बताउनुभयो ।

बैठकले जबर्जस्ती प्रक्रिया अगाडि बढाउने कार्य प्रतिगामी भएको ठहर गर्दै यसले सम्पूर्ण अग्रगामी र परिवर्तनकारी शक्तिलाई ठूलो चुनौती भएको निष्कर्षसहित आन्दोलनमा जाने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

यो कदमले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, जनयुद्ध, जनआन्दोलन, मधेस विद्रोह, थारुलगायत आदिवासी जनजाति तथा अन्य जाति क्षेत्रको आन्दोलन र उनीहरुसँग भएका सम्झौताको मूल्य मान्यताको खिल्ली उडाएर देशलाई प्रतिगमनतर्फ धकेलिएको मोर्चाको विज्ञप्तिमा उल्लेख छ ।

मोर्चाले अग्रगामी शक्तिको सहमतिबाट संविधानसभाबाटै अग्रगामी संविधान बनाउन दृढ रहेको पनि स्पष्ट पारेको छ ।

सम्बन्धित खबरहरु