काठमाडौ । आज माधव नेपालसहित १४ सांसद पदमुक्तको अन्तरिम आदेश माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको सुनुवाइ भएको छ ।

न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि यसलाई हेर्दाहेर्दै भनिएको छ ।

अर्को पेसी मंगलबारलाई सरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । दाहालले सुनुवाइ नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा गएको बताउनुभयो ।

एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको भन्दै ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको छ ।

रिटमा १४ सांसद कारवाही नगर्ने सभामुखको निर्णय खारेज हुनुपर्ने, एमालेले कानुन बमोजिम गरेको कारवाही कार्यान्वयन गरी सूचना टाँस्न अन्तरिम आदेश दिनुपर्ने माग गरिएको छ ।

एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका सांसदलाई निष्कासन गरेको सूचना टाँस गर्नुभएन ।

यता पार्टी फुटेपछि मात्र अब कारबाही गरिराख्नुपर्ने देखिएन भनेर सूचना टाँस गर्नुभएको छ ।

त्यो भन्दा अघि उहाँले निर्वाचन आयोगलाई एमालेले कारबाही गरेको पत्रका सम्बन्धमा निर्णय विचाराधिन रहेको भन्ने जवाफ पठाउनुभएको थियो । सभामुखलाई सूचना टाँस गर्ने अधिकार मात्र छ विचार गर्ने अधिकार छैन । यसैले यो मुद्धा ओलीको पक्षमा हुने विश्लेषण गरिन्छ ।

सम्बन्धित खबरहरु