काठमाडौं । आजबाट सोह्रश्राद्ध शुरु भएको छ । मङ्गलबार (भदौ कृष्ण प्रतिपदा)बाट सोह्रश्राद्व सुरु हुँदै छ । बडादसैँको समीपमा पितृकार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घरडेरामै पितृको श्राद्व तथा तर्पण गरिने यो पितृकार्य अति पवित्र मानिन्छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले घाटमा कोषअन्तर्गत कर्मकाण्डको प्रमाणपत्र प्राप्त ब्राह्मणलाई मात्र पितृकार्य गर्न अनुमति दिइएको र उनीहरूलाई कोरोना सङ्क्रमणबाट बचाउ हुने स्वास्थ्य मापदण्डको पूर्ण रूपमा परिपालन गर्न गराउन निर्देशन दिइएको बताउनुभयो । प्रत्येक औँसी पितृ पक्ष भए पनि यो असोजको सोह्रश्राद्ध महत्वको मानिन्छ ।

चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ ।

बडादशैं र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता रहिआएको छ ।

सोह्रश्राद्ध शुरु भएसँगै पशुपति क्षेत्रमा पनि सर्वसाधारणहरु दिवङ्गत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नका लागि पुग्ने गर्दछन् ।

सम्बन्धित खबरहरु