काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उहाँको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली हुनुहुन्छ ।

उहाँहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिनुभयो ।

चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो ।

हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ ।

यो अचानक हुने विद्युतीय विस्फोटन हो । यसमा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । यो पूर्णतः प्राकृतिक खतरा हो ।

साधारणतयाः चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुन्न सकिँदैन । अपवादको रूपमा ६० किलोमिटरसम्म सुनिएको रेकर्ड छ । आवाजविनाको चट्याङलाई "उष्ण बिजुली" भनिन्छ ।

सबै चट्याङले विद्युत्को लहर उत्पन्न गराउँछन् । त्यसैले सबै चट्याङ खतरनाक हुन्छन् । यसको पूर्वानुमान लगाउन सकिँदैन । यो वर्षा भएका ठाउँबाट १५ किलोमिटरभन्दा बढीसम्म पर्न सक्छ ।

सम्बन्धित खबरहरु