काठमाडौं । नेपालमा हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा हल्का तल रहेको छ ।

हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका सामान्य वदली र बागमती र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ ।

लुम्बिनी प्रदेशका केही स्थानहरु, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि मनसुन केही कमजोर हुँदैछ । सामान्यतया सेप्टेम्बर २३ मा सकिनुपर्ने भए पनि यस वर्ष मनसुन केही दिन धकेलिने देखिएको छ ।

आज दिनभरी देशभर सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका एक दुइ स्थानहरुमा भारी बर्षाको पनि सम्भावना देखिएकोले उक्त स्थानहरुका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।

सम्बन्धित खबरहरु