काठमाडौं । नेकपा (एमाले) ले कारबाहीको सिफारिश गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनमा नयाँ अपडेट आएको छ ।

सर्वोच्च अदालतले निर्वाचन आयोगसँग नेकपा एकीकृत समाजवादी दल दर्ताको निर्णयको सक्कल फाइल माग गरेको हो ।

मंगलबार न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल निर्णय पेश गर्न आदेश दिएको हो ।

त्यस्तै नेकपा एमालेले गरेको १४ सांसद कारबाहीको निर्णयलाई मान्यता नदिने सभामुखको निर्णयको सक्कल फाइल पनि पेश गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा कुमार चुडालका संयुक्त इजलासमा सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारबाही सिफारिश गरेका १४ सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिटमाथिको सुनुवाइ गरेको हो ।

यसअघि न्यायाधीश कार्की र मीरा खड्काको संयुक्त इजलासमा गत भदौ २८ गते पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

त्यसअघि भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सो विवादमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा आज दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश जारी गरेको थियो ।

सम्बन्धित खबरहरु