काठमाडौं । आफ्नै श्रीमानको मृत्यस प्रकरणमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

सिरहाको गोलबजार नगरपालिका–४, निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको मृत्युमा संलग्न भएको आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरिएको हो ।

दुखरनको गत भदौ १८ गते भारतको बिहार, जयनगरस्थित बरही गाउँमा लाश फेला परेको थियो ।

भारतीय प्रहरीले दुखरनको लाश फेला परेपछि नेपाल प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा उनकी श्रीमती हरिहरदेवीको संलग्नता भएको खुलेको थियो ।

उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले पुष्टि गर्नुभयो ।

घटनामा संलग्न २६ वर्षीय भारतीय नागरिक मुकेश यादवलाई पनि पक्राउ गरेको छ ।

भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।

श्रीमान् दुखरनले गर्ने घरेलु दुव्र्यवहार र अनैतिक सम्बन्धका कारण श्रीमती हरिहरदेवीकै योजनामा दुखरनको ज्यान लिइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महरा दम्पतीका चार छोराछोरी छन् ।

वैदेशिक रोजगारीबाट फर्किएका महराले आफ्नै घरमा फर्निचर तथा किराना पसल सञ्चालन गर्दै आएका थिए ।

आफ्ना प्रेमी भारतीय नागरिक मुकेशसँग मिलेर हरिहरदेवीले श्रीमान् दुखरनको ज्यान लिने योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबरहरु