काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।

आजदेखि काठमाडौँमा सुरु भएको बैठकमा उहाँले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो ।

आज पेस गरिएको प्रतिवेदनमाथि हिजो स्थायी कमिटी बैठकमा छलफल गरिएको थियो ।

अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाई भोलि (बुधबार)देखि समूहगतरूपमा छलफल हुने केन्द्रीय सदस्य गरिमा शाहले जानकारी दिनुभयो ।

नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति तरल अवस्थामा रहेको उल्लेख गरिएको छ ।

केन्द्रीय कमिटीको पूर्णता, जिल्ला इञ्चार्ज तोक्ने, प्रदेश कमिटी अध्यक्ष चयन र आगामी कार्ययोजनालगायतका एजेण्डा बैठकमा राखिएका छन् । बैठक भोलि ११ बजे पुनः बस्ने उहाँले जानकारी दिनुभयो ।

क्रान्तिका उपलब्धिको रक्षा गर्दै शान्तिपूर्ण सङ्घर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरणसहित राष्ट्रिय पूँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्ने पार्टीको तत्कालीन लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

“यो पार्टी सबै खाले प्रतिक्रियावाद, अवसरवाद र सङ्कीर्णतावादका विरुद्ध तथा सामाजिक सद्भाव एवं राष्ट्रिय एकताको पक्षमा रहेको छ ।

आम जनसमुदायसँग घनिष्ट सम्बन्ध राख्दै सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, अत्याचार, असमानता र विभेदको समाप्तिका लागि सङ्घर्ष गर्नु र निःस्वार्थरूपमा देश, जनता र क्रान्तिको सेवामा समर्पित हुनु यस पार्टीको कर्तव्य हुनेछ”, प्रतिवेदनमा भनिएको छ ।

यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहेको उल्लेख गर्दै माक्र्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवं समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त रहेको प्रतिवेदनमा बताइएको छ ।

सम्बन्धित खबरहरु