काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संकटका बेलामा काम गरेका राजदूतलाई गठबन्धनको सरकारले फिर्ता बोलाएर देशकै बेइज्जत गरेको बताउनु भएको छ ।

नेकपा एमाले बाँकेले नेपालगन्जमा बुधबार आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकारले फिर्ता बोलाएका राजदूत एमालेको संगठित कार्यकर्ता नभई वैदेशिक मामिलामा विज्ञता हासिल गरेका व्यक्ति भएको दाबी गर्नुभयो ।

महत्वपूर्ण मित्र राष्ट्रमा रहेका राजदूतलाई पुर्वाग्रही रुपले फिर्ता बोलाउँदा देशकै बेइज्जत भएको उहाँको भनाई रहेको छ । उनीहरु नेकपा एमालेका कार्यकर्ता भएकै कारण राजदूत नभएको पनि उहाँको भनाई थियो ।

अध्यक्ष ओलीले वैदेशिक मामलामा विज्ञता हासिल गरेका, पढेलेखेका व्यक्ति राजदूत भएर गएको उल्लेख गर्नुभयो । वर्तमान सरकारले देश बनाउने काम गर्न नसकेको उहाँको आरोप छ । अहिले सरकारको ध्यान देश बनाउनेमा नभएको बताउनुभयो ।

देशको स्वाभिमान बचाउनेमा शेर बहादुर देउवा सरकारको ध्यान नभएको भन्दै भन्नुभयो, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको हाम्रो भूभाग फिर्ता ल्याउन सक्दैन, त्यो समस्या मात्र हो भनेर भन्छ ।’

सरकारले छिमेकी र वैदेशिक सम्बन्ध बिगारेको पूर्वप्रधानमन्त्री ओलीको आरोप छ । परमादेशबाट बनेको गठबन्धन सरकार आफै समस्यामा परेको भन्दै ओलीले गंगटाको उखान सुनाउँदै व्यंग्य गर्नुभयो ।

सम्बन्धित खबरहरु