काठमाडौँ, ११ माघ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले सहमति विपरीत संविधानसभामा प्रश्नावली समिति गठन गर्ने कामलाई महाभूलको सङ्ज्ञा दिनुभएको छ ।
संविधानसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रारम्भिक प्रतिक्रिया दिँदै उहाँले प्रश्नावली निर्माण कार्यसँग राजनीतिक दलहरु स्पष्ट रुपमा दुई कित्तामा विभाजित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दलबीच ठूलो विभाजन भयो, दुई कित्तामा उभिनुपर्ने परिस्थिति देखिएको छ, मुलुकलाई प्रतिगमन र द्वन्द्वतिर लैजाने काम भएको छ ।” संविधानसभाका अध्यक्ष पार्टीको प्रवक्ताका रुपमा प्रस्तुत हुनुभएको बताउँदै अध्यक्ष दाहालले सभाध्यक्षले कलङ्कको टीका लगाउनुभएको प्रतिक्रिया दिनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “सयौँ प्रहरी तैनाथ गरेर संविधानसभालाई व्यारेकमा परिणत गर्ने बडो विचित्र खेल भएको छ । जनतामाथि प्रहार भएको छ । अन्तिम दिनसम्म यस्ता हर्कतविरुद्ध प्रतिवाद गर्नेछौँ ।’” नियम कानुन मिचेर चालिएको उक्त कदमले शान्ति सम्झौताको मूल मर्ममाथि नै प्रश्न खडा गरेको र तरबार उज्याएको उहाँले बताउनुभयो ।
अध्यक्ष दाहालले नियम र कानुन विपरीत संविधानसभामा ल्याइएको प्रश्नावली निर्माणसम्बन्धी प्रस्तावका विरुद्ध जनतामा जाने जानकारी दिनुभयो ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ऐन, नियमविपरीत प्रश्नावली समिति गठनसँगै दलहरु स्पष्ट रुपमा विभाजित भएको प्रतिक्रिया दिनुभयो ।
सहमतिको प्रक्रिया आरम्भ – उपसभापति पौडेल
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रश्नावलीसम्बन्धी समिति गठनको घोषणासँगै सहमतिको प्रक्रिया आरम्भ भएको जानकारी दिनुभयो ।
एमाओवादी सहितका दलसँगसमेत सल्लाह गरी अघि बढ्ने बताउँदै उहाँले संविधान निर्माण कार्यमा संलग्न नभएर उहाँहरु कहाँ जाने ? भनी प्रश्न पनि गर्नुभयो ।
सहमतिका नाममा मुलुकलाई बन्धक बनाउन नहुने प्रतिक्रिया दिँदै उहाँले प्रश्नावली समिति गठनसँगै दलबीच देखिएको विवाद पनि हल भएको बताउनुभयो ।
दलबीच संवाद र सहमतिको प्रक्रिया सुरु गर्न आफू र आफ्नो पार्टी प्रयत्नशील रहने जानकारी दिँदै उपसभापति पौडेलले नेपाली जनताको भावनाअनुसार संविधान जारी गर्न दलहरु सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले प्रश्नावली समिति गठन प्रक्रियामा एमाओवादीलगायतका विपक्षी दलले ‘सहयोग गरेको’ भन्दै धन्यवाद दिनुभयो ।
उहाँले भन्नुभयो, “सभाध्यक्ष नेम्वाङलाई पनि म धन्यवाद दिन्छु, शान्तिपूर्ण विरोध गरेर प्रतिपक्ष दललेसमेत सहयोग गरेको छ । म उहाँहरुलाई पनि धन्यवाद दिन्छु ।”
उहाँले आजैबाट विवादित विषयमा सहमति कायम गर्न प्रयत्न गरिने र सहमतिमै संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।