काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज ११ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ ।

गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात व्यवसायीको बिहीबारको बैठकले दशैंलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुन्यप्रसाद सिटौला (सरोज)ले असोज ११ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको बताउनुभयो ।

साथै, कोरोना महामारीलाई ध्यानमा राख्दै अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ ।

वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको टिकट खोल्नुपर्ने बताइएको थियो ।

शुक्रबार सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भएपछि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले जानकारी दिनुभयो ।

उहाँले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरु नहुने पनि स्पष्ट पार्नुभयो । महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ ।

सम्बन्धित खबरहरु