काठमाडौं । इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार नजिकै पर्ने नाग्दी खोलाबाट विहीवार मध्यरातमा एक कार त्रिशुली नदीमा खसेको छ ।

पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडक खण्ड अन्र्तगत नाग्दी खोलाबाट राती करिव साढे बाह्र बजे खसेको सो कारमा यात्रा गर्ने ३ जना वेपत्ता छन् भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौंबाट पोखरा जादै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट त्रिशुली नदीमा खसेको हो ।

राजमार्गवाट करीब सय मिटर तल त्रिशुलीमा नदीमा खसेको कार नदीमा हराइ रहेको छ ।

कारमा सवार मध्ये पोखरा महानगरपालिका १७ कास्की बस्ने ४९ बर्षिय रुद्रलाल सुवेदी घाइते हुनु भएको छ । उहाँको अहिले भरतपुर स्थित स्कूल अफ मेडिकल साइसेन्स (पुरानो मेडिकल कलेज)मा उपचार भैरहेको छ ।

सो घटनामा परी बेपत्ता हुनेमा कार चालक ६० वर्षिय प्रेम भुजेल रहनु भएको छ । पोखरा महानगरपालिका वडा नं १७ घर भएका भुजेलको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

यस्तै ६० वर्षीय लेखबहादुर भुजेल र निजकी श्रीमती ३६ वर्षिया ईश्वरी भुजेल पनि नदीमा वेपत्ता छन् । उहाँहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

दूर्घटना के कारणले भयो भन्ने यकिन हुन सकेको छैन । अहिले प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले वेपत्ता कार र ब्यक्तिको खोजी कार्य जारी राखेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु