काठमाडौं । हामी सबैलाई लाग्छ कि घरमा भन्दा बैंकमा राखिएको पैसा सुरक्षित हुन्छ । तर कहिलेकाँही यस्ता घटना बाहिर आउँछन्, जस्ले गर्दा बैंकमाथिको विश्वास पनि कम हुँदै जान्छ ।

यो बीचमा किर्ते हस्ताक्षर गरी ग्राहकको खाताबाट रकम निकालेको अभियोगमा एक जना पक्राउ परेका छन् । इलामका केशव राई पक्राउ परेका हुन् ।

उनलाई इटहरी ४ स्थित तुलसा टोलबाट प्रहरीले पक्राउ गरेको हो । ३३ वर्षीय राईले सेन्चुरी कमर्सियल बैंक शाखा कार्यालय चतराको सहायक पदमा कार्यरत हुँदा ग्राहकको पैसा निकालेको आरोप छ ।

पार्वती बिष्टको खातामा रहेको रकम किर्ते हस्ताक्षर गरी विभिन्न समयमा गरेर २७ लाख रुपैयाँ झिकेका हुन् । उच्च अदालत विराटनगरले उनीविरुद्ध पक्राउ गर्न पुर्जी जारी गरेलगत्तै उनी फरार हुँदै आएका थिए ।

पक्राउपछि ७ दिन म्याद थप गरि बैंकिङ कसुर मुद्दामा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु