काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को असोज १५, १६ र १७ गते काठमाडौंमा हुन गइरहेको विधान राष्ट्रिय महाधिवेशनका लागि शुक्रबारको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएको तीन प्रतिवेदनमाथि छलफल गर्न दश वटा समूह बनाइएको छ ।

विधान महाधिवेशनका लागि यसअघि राजनीतिक प्रतिवेदन, सांगठानिक र विधान संशोधन सम्बन्धि प्रस्ताव गरी तीन दस्तावेजमाथि एमाले स्थायी कमिटी सदस्यहरुले राख्नुभएको सुझावहरु पनि एमाले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएको थियो ।

यी तीन प्रतिवेदनहरुमाथि छलफल गर्न भौगोलिकरुपमा सात प्रदेशको सात वटा समूहसहित केन्द्रीय कमिटीकोे बैठकले जनसंगठनको पार्टीको इन्चार्जको समूह, विभागीय प्रमुखहरुको समूह र सम्पर्क, उपत्यका कमिटीसहितको विशेष संरचनाहरुको विशेष समूहमा भोलि शनिबार दिउँसो १ बजेसम्म छलफल हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो ।

यसपछि समूहगत छलफलका आधारमा आएका सुझावहरु शनिबारको केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रस्तुत हुने उहाँले बताउनुभयो ।

विगतको नवौं महाधिवेशनभन्दा यस पटक विधान महाधिवेशन र नेतृत्व निर्वाचन महाधिवेशन छुट्टा –छुट्टै हुने विषय खुसीको कुरा भएको पनि भट्टराई बताउनुहुन्छ ।

एमाले बैठकमा ६८ पृष्ठको राजनीतिक, ५३ पृष्ठको सांगठनिक र ३६ पृष्ठ लामो विधा संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत भएको थियो । एमाले केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिस्ठानमा बसेको हो ।

सम्बन्धित खबरहरु