काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशन पूर्व निर्धारित कार्यतालिका बमोजिम नै हुने काँग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको पदाधिकारी बैठकले काँग्रेसको असोज ९ गते हुन गइरहेको गाउँ–नगरपालिका अधिवेशन नसर्ने निर्णय गरेको शर्माले बताउनुभयो ।

हिमाली जिल्लाहरुको अधिवेशन पनि पूर्वनिर्धारित कार्यतालिका अनुरुप नै अघि बढ्ने उहाँले बताउनुभएको हो ।

हिमाली जिल्लाहरुको हकमा परिस्थति बमोजिम अधिवेशनको मिति थोरै सार्ने अवस्था आएछ भने पनि केन्द्रीय प्रतिनिधिले केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर अधिवेशन सम्पन्न गर्ने शर्माले जानकारी दिनुभयो ।

यसैगरी, काँग्रेसको बाँकी रहेका १३ जिल्लाहरुको क्रियाशील सदस्यता विवादको विषयमा पनि छिटो टुंगो लाग्ने शर्मा बताउनुहुन्छ ।

काँग्रेस महाधिवेशनको सन्दर्भमा राजनीतिक, सांगठानिक, आर्थिक, प्रचारात्मक आदि प्रस्तावका विषयमा पनि छिट्टै नै काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्ने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु