काठमाडौं । एम्बुलेन्स चालक दानबहादुर पाण्डेमाथि हातपात भएको छ । गुल्मी इश्मा गाउँपालिका ४, दोहोली स्वास्थ्यचौकीका करिब ३८ वर्षीय चालक पाण्डेमाथि हातपात गरिएको हो ।

असोज ६ गते बुधबार साँझ करिब ८ बजे पाण्डेले इश्माको कोभिड अस्पतालबाट वडा नम्बर ४ को कुभिन्डेमा कोभिडका बिरामीलाई घर छाड्न लु.१ झ ३५८ नम्बरको एम्बुलेन्स निकाल्दै गर्दा उनीमाथि हातपात गरियो ।

प्रहरीका अनुसार एम्बुलेन्स चालकमाथि हात हाल्ने स्थानीय अन्दाजी ३० वर्षीय लीलबहादुर अछामी र सागर गुरुङ फरार छन् ।

चालकको दाँत झरेको छ भने आँखाको वरिपरि डाम परेको छ । उनको अहिले पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइररहेको छ ।

एम्बुलेन्स चालकमाथि हातपात गर्ने अछामी र गुरुङ गाउँमै खुलेआम डुल्दा पनि प्रहरीले पक्राउ गर्न नसकेको स्थानीयको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले भने एम्बुलेन्स चालकलाई हातपात गर्ने फरार ब्यक्तिहरुको खोजी कार्य जारी रहेको बताएको छ ।

फरार रहेका उनीहरुको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । घटनाको कारण बारे अझै केही नखुलेको पाण्डेले बताउनुभयो ।

सम्बन्धित खबरहरु