काठमाडौं । प्रदर्शनका लागि नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एक जनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।

आज (शुक्रबार) दिउँसो साढे १२ बजे संग्रहालय हेर्न पुगेका खिमबहादुर घर्ती मगरले श्रीपेच निकाल्न खोज्दा सेनाले नियन्त्रणमा लिएको हो ।

संग्रहालयका सूचना अधिकारी बुद्धी गुरुङकाअनुसार मगरले श्रीपेच निकाल्न खुकुरी हानेका थिए । गुरुङका अनुसार टिकट काटेर आएका दर्शकमध्ये एक जनाले श्रीपेच निकाल्न खोज्दा सुरक्षा निकायले नियन्त्रणमा लिएको हो ।

खुकुरी निकालेर मगरले श्रीपेच निकाल्न हान्ने बेला सुरक्षामा खटिएका नेपाली सेनाले पक्राउ गरेको हो । मगरलाई अहिले प्रहरी बृत्त दरबार मार्गमा बुझाएको सूचना अधिकारी गुरुङले बताए ।

२६ वर्षीय खिमबहादुर घर्ती पश्चिम रुकुम मुसिकोट ११ स्थायी घर भइ हाल काठमाडौँ बस्दै आएका छन् । उनले किन चोरी गर्न खोजेका हुन भन्ने कुरा खुलेको छैन ।

सम्बन्धित खबरहरु