काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग आज भेटवार्ता गर्नुहुने भएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आउनु भएका मोदीले शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नुहुने कार्यक्रम तय भएको छ ।

बाइडेनले गत २० जनवरीमा अमेरिकी राष्ट्रपतिको पद सम्हालेपछि यी दुई नेताबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको भारतीय विदेश सचिव हर्षवर्धन श्रीङ्गलाले जानकारी दिनुभएको छ ।

तीन दिने अमेरिका भ्रमणका क्रममा उहाँले अन्य देशका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

सबै भेटवार्तामा उहाँले साझा चासो, दुई पक्षीय हित, आपसी सहकार्य तथा सम्बन्धलाई अझ बलियो बनाउनेलगायतका विषयमा कुराकानी गर्नुहुने भएको छ ।

प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्ने उपायबारे छलफल हुने अपेक्षा गरिएको छ ।

उहाँहरुबीच रक्षा, व्यापार सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई दुई देशका बीचमा अझ बलियो बनाउने बारेमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको पछिल्लो घटनाक्रम र क्षेत्रीय सुरक्षा स्थितिबारे छलफल हुने बताइएको छ ।

बुधबार अमेरिका आउनु भएका मोदीले क्वाड शिखर सम्मेलनमा भाग लिने र संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

उहाँले क्वाड शिखर सम्मेलनमा शुक्रबार नै भाग लिनुहुने छ भने न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्को ७६औं महासभालाई शनिबार सम्बोधन गर्नुहुनेछ ।

क्वाड सम्मेलनमा जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसमेत सहभागी हुनुहुने भएको छ ।

प्रधानमन्त्री मोदीले सेप्टेम्बर २२–२५ को अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्ने तालिका रहेको छ ।

सम्बन्धित खबरहरु