काठमाडौं । आज दिनभरी नारायणहिटी दरबार संग्रहालयमा भएको श्रीपेच चोरी प्रकरण निकै चर्चामा रह्यो ।

रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शुक्रबार अवलोकनका लागि नारायणहिटी दरबार संग्रहालय पुगेका थिए ।

टिकट काटेर संग्रहालयको विभिन्न कक्ष नियाल्दै अघि बढेका उनी जब श्रीपेच रहेको कक्षमा पुगे, अनपेक्षित व्यवहार देखाउन थालेको बताइन्छ ।

त्यसपछि उनले श्रीपेच राखिएको कोठाको भित्तामा रहेको सोकेसको सिसा तोडेका हुन् ।

त्यहाँबाट उनी श्रीपेच भएतिर अघि बढेका थिए । यद्यपि संग्रहालयको सुरक्षामा खटिएका नेपाली सेनाको टोलीले तत्काल उनलाई नियन्त्रणमा लिन सफल भयो ।

घर्ती अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गमा छन् । उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ ।

तर प्रहरीलाई उनले दिएको बयानले सबैलाई हैरान बनाएको छ । प्रहरीसँग उनले राजा बनेर शासन चलाउन श्रीपेच निकाल्न खोजेको बयान दिएका छन् ।

वृत्तका प्रहरी प्रमुख डीएसपी रामेश्वर पौडेलका अनुसार त्यही सोचका कारण कसैको प्रवाह नगरी सोकेसको सिसा फोड्दै अगाडि बढेको देखिएको बताउनुभयो ।

प्रहरीको सम्पर्कमा आएकी उनकी दिदीले घर्ती मानसिक रुपमा अस्वस्थ्य भएको बताइन् । वैदेशिक रोजगारीका लागि बहराइन पुगेका घर्ती एक वर्षअघि नेपाल फर्किएका थिए ।

दुई वर्ष बहराइन बसाईका क्रममा उनीमाथि हातपात भएको थियो, त्यसले उनको मानसिक स्वास्थ्यमा असर परेकाले नियमित औषधि लिइरहेको बताइएको छ ।

मैपी बस्ने खेमबहादुरकी दिदीले प्रहरीलाई बताए अनुसार स्वदेश फर्किए यता खेमबहादुर कहिले रुकुम पश्चिममा रहेको आफ्नो घर त कहिले काठमाडौं बस्दै आएका छन् ।

सम्बन्धित खबरहरु