काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रवारबाट सुरु भएको बैठक आज (शनिबार) पनि बस्न लागेको हो ।
अपराह्न १ बजेदेखि सुरु हुने बैठकमा पार्टीको विधान महाधिवेशनमा पेस गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न गठित १० वटा समूहको छलफल सुरु हुने जनाइएको छ ।
प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि शुक्रवारबाटै समूहगत छलफल जारी छ ।
प्रतिवेदनमाथि छलफल गर्न ७ वटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसङ्गठनलाई हेर्न पार्टीका इन्चार्जहरूको एक समूह, विभागीय प्रमुखहरूको समूह र प्रदेशमा सम्पर्क कमिटीहरू, उपत्यका विशेष कमिटीहरू,लगायतका समूहहरूलाई हेर्न अर्को समूह निर्माण गरिएको थियो । एमालेको विधान महाधिवेशन ललितपुर गोदावरीस्थित सम्मेलन हलमा १५–१७ असोजमा हुँदै छ ।