काठमाडौं । वरिष्ठ वामपन्थी नेता एवम् पूर्वअर्थमन्त्री स्व. भरतमोहन अधिकारीकी माहिली छोरी लीमा अधिकारी सक्रिय राजनीतिमा आउनु भएको छ ।

लीमाले नेकपा एमाले नभई माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट राजनीति गर्नुहुने भएको हो ।

पार्टीले उहाँलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघको अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको खुलेको छ ।

लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत् सामाजिक सेवामा सक्रिय हुनुहुन्थ्यो । उहाँ नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरको महासचिव समेत हुनुहुन्छ ।

अधिकारीका ठूलोबुबा (पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी) र बुवाले राजनीतिमार्फत् गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताउनुभयो ।

उहाँले मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहनुभएको एमालेको नौ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैं बनाऔं, महिलाका नाममा घरजग्गाको स्वामित्व जस्ता एजेण्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।

सम्बन्धित खबरहरु