काठमाडौ । ‘भाग्यले बाँचेकाहरु’, ‘सहायक श्रीमान्’, ‘सिभिल सोल्जर्स’ जस्ता बहुचर्चित डकुमेन्ट्री फिल्मले निर्देशक गणेश पाण्डेलाई स्वदेशसँगै विदेशी भूमिमा चर्चाको शिखरमा पुर्याएको छ ।

उहाँले एकपछि अर्को गर्दै अत्यन्तै सफल डकुमेन्ट्री फिल्म दर्शकमाझ प्रस्तुत गर्न सकेको प्रमाण विश्वभरीका धेरै विश्वचर्चित महोत्सवमा छनोट हुनु हो । ‘भाग्यले बाँचेकाहरु’को अपार सफलतापछि उदाएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान्’ बृत्तचित्र अहिले विश्वका प्रतिष्ठित अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा छानिएका छन् ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र रसियाको कान्स अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट अवार्ड जित्न सफल ‘सहायक श्रीमान् अर्थात् को-हजबेन्ड’ अहिले आधा दर्जन देशका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट भएको छ ।

अक्टोबर १३ देखि १७ सम्म युरोपियन मुलुक स्लोभाकियाको पोपराडमा हुन लागेको २९औ माउण्टेन फिल्म्स तथा अन्तर्राष्ट्रीय महोत्सवमा ‘सहायक श्रीमान्’ छनोट भइसकेको छ । यसैगरी १८औ टेगर्नसी इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिवल जर्मनीका लागिपनि यो बृत्तचित्र छनोट भएको छ । १३ अक्टोबर देखि १७ अक्टोबरसम्म यो महोत्सव जर्मनीमा हुँदैछ ।

यसैगरी अक्टोबर १ देखि २४ सम्म हुने १६औ वार्षिक तस्वीर दक्षिण एशियाली फिल्म महोत्सव वाशिंगटन, अमेरिकाका लागिपनि ‘सहायक श्रीमान्’ डकुमेन्ट्री फिल्म छनोट भएको छ ।

सोही बृत्तचित्र चौथो बहुसांस्कृतिक फिल्म समारोह, २०२१, टोरण्टो क्यानडाका लागि समेत चयन भएको छ। यसका लागि निर्देशक गणेश पाण्डे अमेरिका, क्यानडा र युरोप जाने तयारीमा हुनुहुन्छ। कोरोनाका कारण विश्वभरका चलचित्र महोत्सव रोकिएकाले ‘सहायक श्रीमान्’को अन्तर्राष्ट्रिय यात्रा पनि रोकिएको थियो ।

तर अब अवस्था सहज बन्दै गएकाले ‘भाग्यले बाँचेकाहरू’ जस्तै ‘सहायक श्रीमान’ले अन्तर्राष्ट्रिय जगतमा चर्चा पिट्न थालेको छ । निर्देशक पाण्डेले अहिलेसम्म २३ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसक्नु भएको छ । ‘सहायक श्रीमान अर्थात् को-हजबेण्ड’ नेपालको लोपोन्मुख बहुपति प्रथाको कथामा बनेको वृत्तचित्र फिल्म हो ।

सम्बन्धित खबरहरु