काठमाडौं । गोलभेंडाको उत्पादन बढे पनि बजार नपाउँदा किसान चिन्तित छन् । भारतीय गोलभेंडाले नेपाली बजार ओगटेपछि प्युठानका स्थानीय किसानले बजार नपाएका हुन् ।

माण्डबी गाउँपालिका–२ मर्काबाङका किसान कोमनाथ योगीले आफूले उत्पादन गरेको गोलभेडा दश रुपैयाँ किलोमा पनि विक्रि गर्न नसकेको दुःखेसो गर्नुभयो ।

मुख्य सिजनमै बिक्री नभएपछि करिब ५ रोपनी क्षेत्रफलमा फलेको गोलभेडा बारीमै कुहिन थालेको छ । उहाँका अनुसार गाउँमा सबैले गोलभेडा फलाएका छन्, कसैले किन्दैनन् ।

स्मार्ट कृषि कार्यक्रम लागूभएको मर्काबाङ गाउँमा मात्रै झण्डै एक सयजना किसानले व्यवसायिक रुपमा गोलभेडा खेती गरेको योगीले जानकारी दिनुभयो ।

गोलभेंडाको मुख्य सिजन भएकाले किसान अहिले गोलभेंडा टिप्ने र बजारसम्म पुर्याउने काममा व्यस्त छन् । गोलभेंडाले मूल्य कम पाउँदा लगानी पनि उठाउन कृषकहरुलाई चुनौती भएको छ ।

त्यस्तै, अर्का किसान घनबहादुर घर्तीले भारतीय गोलभेडा बजारमा आएपछि स्थानीय उत्पादनले भाउ नपाएको जानकारी गराउनुभयो । भारतीय टमाटर ट्रकभरी बोकेर प्युठान पुग्छ ।

व्यापारीले पनि स्थानीय उत्पादन खरिद गर्न मान्दैनन् । गत बर्ष यतिबेला किलोको ४० रुपैयाँसम्म बिक्री भएको गोलभेडा यो वर्ष सस्तिएर किलोको १० रुपैयाँमा झरेको छ ।

गोलभेडाका थोक व्यापारी मुक्तीप्रसाद पौडेलले भारतीय उत्पादन सस्तोमा भित्रिएका कारण यस वर्ष भाउ बिग्रिएर किसानलाई घाटा भएको बताउनुभयो ।

सम्बन्धित खबरहरु