काठमाडौं । झापाको दमकमा रहेको एडभान्स अस्पतालमा एक बिरामीको मृत्यु भएपछि हंगामा भएको छ ।

अस्पताल तथा त्यहाँ कार्यरत चिकित्सकको लापरवाहीका कारण ११ महिने शिशुको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा आक्रोशित समूहले शनिबार अस्पतालभित्र हंगामा गरेका हुन् ।

झापाको कमल गाँउपालिका १ का ११ महिने शिशुलाई उपचारका लागि एडभान्स हस्पिटलमा लगिएको थियो । एन्टिजेन जाँच गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालको भनाइ छ ।

शुक्रबार ल्याइएका बालकलाई आवश्यक जाँच र औषधि दिएर अस्पतालले घर पठाएको बताएको छ ।

शिशुको स्वास्थ्यमा थप समस्या देखिएपछि पुनः अस्पताल ल्याएको र ल्याउनासाथ मृत्यु भएपछि तनाव शुरु भएको स्थानीयले बताएका छन् ।

चिकित्सकले लेखिदिएको औषधि तथा सुई घरमा स्थानीय स्वास्थ्यकर्मीले लगाई दिएको र स्वास्थ्य समस्या देखिएपछि आफन्तले पुन एड्भान्स अस्पतालमा ल्याएको मृतकका एक आफन्तले बताउनुभयो ।

शुक्रबार बेलुका नै मृत्यु भएको बालकको शव अस्पतालमा राखेर आफन्तहरुले शनिवार विहानैदेखि अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका थिए ।

अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहँदा अस्पताल तोडफोड भएको अस्पताल सञ्चालक समितिका अध्यक्ष माधव पराजुलीले बताउनुभयो ।

अस्पताल परिसरमा तनाव भएपछि आक्रोशित पीडितका आफन्त तथा समूहलाई प्रहरीले नियन्त्रणमा लिएर केही घण्टा इलाका प्रहरी कार्यालय दमकमा राखेर छलफल गरेको थियो ।

सम्बन्धित खबरहरु