काठमाडौं । हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर आजदेखि खुलेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो । मन्दिर गत वैशाख महिनादेखि बन्द गरिइएको थियो ।

मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा खुलाइएको जानकारी दिनुभयो ।

बडादशैँको सोह्रश्रद्धामा कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन आउने गर्छन् । कोरोना सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा गरिएको निषेधाज्ञा पाँच महिनापछि गत भदौ २३ गतेदेखि खुलाइएको थियो ।

१८ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमणदर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाएको प्रशासनलाई विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिरमा पनि खुलाउन दबाब परेको थियो ।

निषेधाज्ञा र मुक्तिनाथ खुलेसँगै निषेधाज्ञाले थला परेको मुस्ताङका होटल र पर्यटन व्यवसाय चलायमान, जनजीवन सहज र विकास निर्माणले गति लिने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबरहरु