काठमाडौं । इजरायलको ‘केयरगिभर’का लागि एक हजार छ सय जनाको नाम सिफारिस गरिएको छ ।

आइतबार बिहान वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको हो ।

विभागले भाषा परीक्षा उर्तीण गरी अन्तरवार्तामा सहभागी मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबीए) लाई सिफारिस गरेको जानकारी दिएको छ ।

अब इजरायलको पिआइबिएले विभागले सिफारिस गरेको सूचीबाट कामदार छनोट गर्नेछ।

त्यसपछि पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुन्छ । रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन् ।

त्यसका लागि अहिले छनोट भएका एक हजार छ सयमध्येबाट एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ ।

छानिएका कामदार जाँदा लाग्ने शुल्क रोजगारदाताले नब्यहोरेमा कामदार स्वयंले भिसा र टिकटलगायत खर्चका लागि करिब १ लाख ६५ हजार तिर्नुपर्ने हुन्छ ।

यसपटक छानिएका कामदारहरूले व्यक्तिको घरमा नभई नर्सिङ होम तथा केयर होमलगायत संस्थाका लागि काम गर्नेछन् ।

कमाइ मासिक डेढ लाखभन्दा बढी नेपाली रूपैयाँ हुने उल्लेख छ । भिसा अवधि पाँच वर्षको रहेको छ ।

सम्बन्धित खबरहरु