काठमाडौ । कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्मा मृत फेला परेका छन् ।

ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा उनको शव भेटिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् ।

असोज ४ मा साँझ ढलमा खसेका विश्वकर्माको शव घुसेलस्थित बागमतीको किनारमा भेटिएको हो । उनको कपडाबाट परिवारले पहिचान गरेका छन् । घुसेल ललितपुरको दुर्गम ठाउँ हो ।

बागमती नदी किनाराबाट मुल सडक सम्म शव ल्याउन करिब २ घण्टा पैदल हिँड्नुपर्छ ।​ उज्ज्वलको अनुहार चिन्न नसकिने अवस्थामा छ । मेडिकल परीक्षणका लागि पाटन अस्पतालमा ल्याइने एसएसपी बज्राचार्यले बताइन् ।

गोल्फुटारमा वडा कार्यालयको शौचालयमा शव फेला

बूढानीलकण्ठ नगरपालिका– ८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए ।

उनका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् ।

प्रहरीले घटनास्थलमा आएर लास जाँच गरिरहको छ शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए ।

सम्बन्धित खबरहरु