काठमाडौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले शनिबार देखाएको हर्कत सबैको चासोको बिषय बनेको छ ।

शनिबार डोल्पाको एक आवासीय विद्यालयको उद्घाटन गर्न जाँदा राज्य कोषको दोहन गर्नुभएको पाईयो । उहाँहरूले जगदुल्ला गाउँपालिका–५ मा बनेको दलित आवासीय विद्यालयको उद्घाटन गर्न पुग्नुभएको थियो ।

सुर्खेतबाट हेलिकप्टरमा डोल्पा पुगेर उहाँहरूले विद्यालयको उद्घाटन गर्नुभयो । उहाँहरू हेलिकप्टरमा डोल्पा पुगेको खर्च जगदुल्ला गाउँपालिकाले व्यहोर्नुपर्ने भएको छ ।

गाउँपालिका अध्यक्ष नारसिंह रोकायाले हेलिकप्टरको कूल खर्चमध्ये कति रकम व्यहोर्ने भन्ने खुलाउन चाहानुभएन तर खर्च गाउँपालिकाको खाताबाट जाने भएको हो ।

‘उहाँहरू उद्घाटनका लागि आउनुभएको हेलिकप्टर खर्च हामीले दिने कुरा भएको हो अध्यक्ष रोकायाले भन्नुभयो ।

विद्यालय उद्घाटन गर्न जाँदा चढेको हेलिकप्टर खर्चको भार गाउँपालिकालाई बोकाएका मुख्यमन्त्री शाही र उद्योग मन्त्री बुढालाई स्थानीयले भने ४०–४० किलोको माला चढाएका छन् ।

उद्घाटन सत्रमा मुख्यमन्त्री शाही, उद्योग मन्त्री बुढा र गाउँपालिका अध्यक्ष रोकायालाई स्थानीयले बनाएको ४०–४० किलोको माला लगाइदिएका थिए। उक्त माला लगाएको उहाँहरूको तस्बिर अहिले सामाजिक सञ्चालनमा चर्चामा छ।

सम्बन्धित खबरहरु