काठमाडौं । काठमाडौंको ढल व्यवस्थापन व्यवस्थित नहुँदा ढलमा खसेर मानिसको मृत्यु हुने तथा बेपत्ता हुने घटना बढ्न थालेका छन् ।

यो बीचमा केही दिन पहिले काठमाडौंको कपनमा ढलमा खसेर बेपत्ता भएका बालकको शव झण्डै पाँच दिनपछि भेटिएको छ ।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको मिलन चोकमा ढलमा खसेर गत मंगलबार राति करिब ८ बजे बालक बेपत्ता भएका थिए ।

मृतक १० वर्षीय उज्जवल विकको शव ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका–१, घुसेलमा भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले बताउनुभयो । फोटो हेरेर परिवारले सखानत गरेको हो । प्रहरीले शव ल्याउँदै गरेको जानकारी पनि उहाँले दिनुभयो ।

उहाँका अनुसार टिकाभैरवसम्म बोकेर ल्याउँदैछन्, त्यहाँबाट पाटन अस्पतालमा पोष्ट मार्टमका लागि लगिनेछ । स्थानीयले बालक ढलमा खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बालकको खोजी गर्न सामाखुसीबाट प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको विपद् व्यवस्थापनको टोली खटिएको थियो । कतिपय ठाउँमा कमिसनको पछि लागेर गुणस्तरीय कामको अभावमा पनि यस्ता घटना घट्ने गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा सहरी विकास मन्त्रालय तथा मातहतका निकायका साथै स्थानीय सरकारको पनि ढल तथा सडकको उचित मर्मत सम्भारमा ध्यान नजाने नगरेको तथा समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई मिलेमतोमा कारबाही नगरी छुट दिने गरेको पाइन्छ ।

सम्बन्धित खबरहरु