काठमाडौं । बुद्ध एयरको जहाजले आकाशमा दुई घण्टासम्म फन्को मारेको छ । बुद्ध एयरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको हो ।

आज बिहान काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त जहाजमा प्राविधिक समस्या आएपछि अवतरण गर्न नसकेर पुनः काठमाडौंमै फर्किएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जहाज ‘नर्मल ल्याण्ड’ गरेर पार्किङस्थलमा गइसकेको बताउनुभयो ।

उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा नखुलेको बताइएको छ ।

सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको हो ।

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो ।

सम्बन्धित खबरहरु