काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरिएको छ ।

राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज गर्नुभएको छ ।

आज बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सो अध्यादेश खारेज गर्नुभएको हो । सो कुरा राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता जगन्‍नाथ पन्तले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/६/११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको छ ।’

सत्ता साझेदारी दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको थियो ।

गत सोमबार प्रतिनिधिसभा संसद्को बैठकपछि सञ्चार माध्यमहरुसँग बोल्नुहुँदै अध्यक्ष यादवले अध्यादेश खारेजपछि, मन्त्रालय बाँडफाट भएपछि मन्त्रिपरिषद् विस्तार हुने बताउनु भएको हो ।

संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने गरी अध्यादेश ल्याइएको थियो ।

यादवका अनुसार अध्यादेश गलत थियो, अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने, विकृति फैलाउने अन्ततः लोकतन्त्रलाई नै अस्थिर बनाउने हुँदा खारेज गर्नुपर्ने उहाँको तर्क थियो । अब मन्त्रिपरिषद् विस्तार हुने विश्वास गरिएको छ ।

सम्बन्धित खबरहरु