काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर चर्चामा आएका पुण्य गौतम विश्वासको आजकाल दिन नै फेरीएको छ । अचेल उहाँ दिनरात टीकटकमा लाईभ बस्नुहुन्छ ।

टीकटक लाइभमा बसेकै भरमा मनग्गे आम्दानी गर्न सकिने चाल पाएपछि गौतम अरु सबै कामधन्दा छाडेर यसमा लाग्नुभएको हो ।

उहाँलाई छोटो समयमै फलिफाप भएपछि टिकटकमा त कमाउन सकिने रहेछ भन्ने भएको छ । दुई दिन लाइभ बस्दा करिब २ लाख रूपैयाँ आम्दानी भएको उहाँले खुलाउनुभएको छ ।

कञ्चनपुरका अंशु बर्मा नाम गरेका युवकले १५ महिनामै टीकटकबाट करोड कमाएको भनेर सामाजिक सञ्जालमा निकै चर्चा भएपछि अधिकांश नेपाली टिकटक तर्फ झुम्मिएका छन् । गौतमपनि त्यता नै लाग्नुभएको । अब अंशु बर्मा र अर्की चर्चित मन्दिरा ढुंगानालाई फ्लप पार्ने गरी पुण्य गौतम उदाउनुभएको छ ।

गौतम पहिलोपटक गत शुक्रबार बेलुकी श्रीमतीसँगै लाइभमा बस्नुभयो । ९ बजेबाट लाइभ बस्नुभएका उहाँ बिहान साढे ५ बजेमात्र सुत्न जानुभयो । आफ्नो लाइभमा एकैपटकमा १२ हजारसम्म प्रयोगकर्ताहरू जोडिएको चर्चा अहिलेसम्म कायम छ ।

‘त्यसपछि त मलाई रस पसिहाल्यो,’ उहाँले भन्नुभयो ‘अब समय मिलेसम्म बसिन्छ ।’ श्रीमतीको प्रेरणाले आफू टीकटक लाइभमा बस्न थालेको गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसभित्रका प्राविधिक पक्षहरुबारे मलाई धेरै जानकारी थिएन । श्रीमतीले नै सबै सिकाएकी हुन् ।’

डलर कमाउनकै लागि निद्रा बिगारेर टीकटकमा लाइभमा बस्न थालेको भनेर उहाँ ट्रोलको शिकार भइसक्नुभएको छ । गौतम भने डलर कमाउने भन्दा पनि संसारभरका मानिसहरूसँग जोडिने उद्देश्य लिएको बताउनुहुन्छ ।

‘यो टीकटकको दुनियाँ गजबको रहेछ,’ उहाँले भन्नुभयो, ‘यसमा अल ओभर द वर्ल्ड जोसँग पनि जोडिन सकिन्छ । यही कुराले मलाई लोभ्याएको हो ।’ योसँगै पैसापनि कमिने रहेछ । म केही पैसा समाजसेवामा लगाउँछु । केही समय लाईभ बस्छु बाँकी समय बाहिरी कामपनि गर्छु ।

उहाँले टिकटकमा टन्न पैसा कमिने भएकाले अबको धनी आफू नै भएको दावी गर्नुभएको छ । उहाँले भन्नुभयो म अल ओभर द वर्ल्ड का मानिससँग कुरा गर्न सक्छु । विश्व पपुलर छु यसैले दुनियाँको पैसा थुपार्छु । हेर्दै जानुहोला अबको धनी मै हो ।

सम्बन्धित खबरहरु