काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनले नेपाली भूमि मिचेको भन्दै नेपालमा विरोध प्रदर्शन शुरु भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।

हुम्लामा चीनले नेपाली सीमा अतिक्रमण गरेको भन्दै संघले मंगलबार काठमाडौंको माइतीघरमा बिरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा उत्रिएकाहरुले चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिलर सार्न पाइदैनलगायतका प्ले कार्डसहित प्रदर्शन गरेका छन् ।

साथै, उनीहरुले नेपाल–चीन सीमाबारे लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठन गरेको समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका हुन् । लोसपा युवा अध्यक्ष मुकेश कुमार झाले चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै बिरोध प्रदर्शन गरिएको बताउनुभयो ।

त्यस्तै उहाँले चीनमा एमबीबीएस गरेका विद्यार्थीहरुलाई नेपालमा इन्र्टनशीप गराउनुपर्ने माग राखिएको जानकारी गराउनुभयो ।

संघले नेपालको सीमा सुरक्षाका लागि निरन्तर खवरदारी गर्ने जनाएको छ । चीन र नेपालको सीमा भएको बिषयमा अध्ययन गर्न सरकारले बनाएको समितिले पनि गृहमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ ।

सम्बन्धित खबरहरु