पर्सा । वीरगंज महानगरपालिका-६ बस्ने अनुराग गुप्ताको समृद्ध ईम्पेक्स एण्ड सप्लायर्स कपडा पसलमा विद्युतको तार सर्ट भई सोमबार साँझ आगलागी हुँदा पसलका कपडाहरु जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोग आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

‘यूके लाहुरे हुँ’ भन्दै महिलासँग लाखौँ ठगी

सामाजिक सञ्जाल फेसबुकमा आफू ‘यूके लाहुरे हुँ’ भन्दै महिलालाई प्रेममा पारेर लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएर हाल काठमाडौँको बूढानीलकण्ठ–१० चुनिखेलमा बस्दै आएका ३१ वर्षीय केदार राई रहेका छन् ।

राईले फेसबुकमा ‘केडी गोर्खाली’ नामक फेक आईडी बनाएर महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । त्यसपछि उनले ती महिलालाई ‘म यूके लाहुरे हुँ । मेरो श्रीमतीको इटहरीमा सवारी दुर्घटना परी मृत्यु भएको हो । म तिमीलाई माया गर्छु । तिमीलाई यूके लैजान्छु’ भन्दै प्रलोभन देखाएका थिए ।

गत भदौ १६ गते राईले ती महिलालाई आफ्नो आमा कलेजोको रोगी रहेकाे र बिरामी परेर ग्राण्डी अस्पतालमा उपचाररत रहेको बताएका थिए । उपचारका लागि केही रकम आवश्यक परेको भन्दै पटक–पटक गरी १ लाख ६० हजार ५ सय रुपैयाँ नगद, सुनको बेरुवा औँठी, सुनको लकेटसहितको सिक्री आफै लिएर ठगी गरेको प्रहरीको भनाइ छ ।

ती महिलाको उजुरीको आधारमा राईलाई महानगरीय अपराध महाशाखाको टोलीले असोज ११ गते पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु