काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद प्रभावकारी हुन नसकेको भन्दै ताजा जनादेशमा जान प्रस्ताव गर्नुभएको छ ।

‘यो संसद चलिराखेको छैन, ताजा जनादेशमा जान जरुरी छ’, मंगलबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा ओलीले भन्नुभयो ।

अहिलेको गठबन्धनले नै चुनाव गराए पनि आफ्नो पार्टीलाई मान्य हुने ओलीको धारणा छ । ओलीले अहिलेको राजनीतिक अकर्मण्यताको स्थितिमा ताजा जनादेशमा गएर देशलाई गतिशील बनाउनुपर्ने धारणा राख्नुभयो ।

ओलीले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेपनि दुबै पटक सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । तर ओलीले अहिलेको संसदले ठीकसँग काम गर्न नसकेको भन्दै ताजा जनादेशमा जानुको विकल्प नभएको दावी गर्दै आउनुभएको छ ।

अर्को प्रसंगमा ओलीले जेट दुईजना पाइलटले चलाउने भएपनि पार्टी नचल्ने रहेछ भन्ने पाठ सिकिएको भन्दै अब चुनाव जितेर एउटै पाइलटले ५ वर्षसम्म सरकार चलाउने बताउनुभयो ।

‘जेट दुई जना पाइलटले चलाउँछन् । तर पार्टी दुई पाइलटले चलाउँदा चल्दैन रहेछ’, ओलीले भन्नुभयो, ‘सरकार ५ वर्ष चलेन अब चुनाव जितेर एउटैले चलाइन्छ ।’

ओलीले नेपाललाई कालोधनको वासिङ मेसिन बनाउन खोजिएको भन्दै कटाक्ष समेत गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु