काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा राष्ट्रपति भण्डारीले भौगोलिक, सामाजिक र सांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकमा मनाइने यस्ता पर्वले परिवार र समुदायमा आपसी प्रेम, विश्‍वास र सहयोगको भावनालाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुुभएको छ । उहाँले यस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने बताउनुुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपाली समाजमा विद्यमान अन्धविश्वास, विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि सबैलाई अग्रसर हुन यो पर्वले प्रेरणा दिने बताउनुभएको छ ।

उहाँले नेपाली समाजका मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता चाडपर्वहरू मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित कतिपय अव्यावहारिक पक्षलाई समयानुकूल सुधारसमेत गर्दै जानुपर्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।

सामाजिक सद्भाव बढ्छ : प्रधानमन्त्री
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै धार्मिक र सांस्कृतिक महत्त्वका साथ जितिया पर्व मनाउने सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वका रूपमा स्थापित भएको उल्लेख गर्नुहुँदै संस्कृति र संस्कारहरूले सामाजिक एकता र सद्भाव बढाउने बताउनुभएको छ ।

उहाँले यस पर्वका माध्यमबाट समस्त आमा र सन्ततिबीच माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मधेसी तथा थारू समुदायका महिलाहरूले जितियालाई आफ्नो सन्तानको सुख र समृद्धिका निमित्त मनाइने एउटा महìवपूर्ण चाडका रूपमा लिइने गरिन्छ ।

सम्बन्धित खबरहरु