काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ हुँदै छ ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाइको पेशी तोकिएको हो ।

उक्त इजसालमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश हुनुहुन्छ ।

यसअघि २०७६ फागुन ३० गते सभामुख सपकोटाविरुद्धको मुद्दा पेशीमा चढाइएको थियो, तर मुद्दा हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको ज्यान लिएको घटनामा संलग्न भएको आरोपमा सापकोटाविरुद्ध सर्वोच्चमा उजुरी परेको थियो ।

२०६२ वैशाख १६ गते श्रीकृष्ण मावि दाप्चामा अभिभावक भेला स्थलबाट लामालाई नियन्त्रणमा लिइएको थियो । साउन तेस्रो साता लामालाई जिउँदै खाल्डोमा पुरेको भन्दै उहाँकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिनुभएको थियो । पूर्णिमायाको जाहेरी प्रहरी नलिएपछि उहाँले सर्वोच्चमा उजुरी दिनुभएको थियो ।

सर्वोच्चले २०६४ फागुन २२ गते आदेश दिएपछि जाहेरी दर्ता भएको थियो । तर, बाबुराम भट्टराई नेतृत्वको सरकारले सपाकोटाविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।

यस निर्णयविरुद्ध लामाकी पत्नी फेरि सर्वोच्च अदालत पुगेकी थिइन् भने सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको थियो ।

यो मुदा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । सोही मुद्दामाथि आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

सम्बन्धित खबरहरु