काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ । जापानमा बुधबार शक्तिशाली भूकम्प आएको हो । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।

जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जानकारी दिएका छन् ।

स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ । भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् ।

भुईंचालो जाने प्रक्रिया
जमीनबाट ८० देखि एक सय किलोमिटर तलसम्मको पृथ्वीको माथिल्लो भाग धेरै टुक्रामा विभाजित छ। प्राविधिकहरू यी टुक्रालाई ‘टेक्टोनिक प्लेट’ भन्छन्। यस्ता प्लेटहरू समुद्रमा डुंगा तैरिरहेजस्तो एस्थेनोस्फेएर मा तैरिएर निश्चित दिशामा हिँडिरहेका छन्।

यसरी हिँड्ने क्रममा यस्ता प्लेटहरू कहीँ एक अर्काबाट टाढा जान्छन् भने कहीँ नजिकआएर ठोक्किन्छन्। यसरी प्लेटहरू ठोकिँदा, एक प्लेट अर्कोका मुनि घुस्दा वा घोटिने क्षेत्रमा दबाब सिर्जना हुँदा शक्ति सञ्चय हुँदै जान्छ।

केही समयसम्म यस्तो शक्ति सञ्चित भएर रहन्छ, तर जब यस्तो शक्ति उक्त क्षेत्रमा रहेको चट्टानले थाम्ने क्षमताभन्दा बढी हुन्छ, तब पृथ्वीको माथिल्लो तहमा रहेका चट्टानसमेत फोरेर भएभरको ऊर्जा एकैचोटि बाहिर निस्कन्छ। यसरी सयौँ वर्षदेखि सञ्चित ऊर्जा एक्कासि निस्कँदा भुईंचालो जान्छ।

टेक्टोनिक प्लेटहरूको सिमाना जहाँ जहाँ पर्छ ती क्षेत्रमा भुईंचालो जाने गर्छ। यस्ता सिमानाहरूमा प्लेटहरू एकआपसमा ठोकिने, एक प्लेट अर्कोमा घोटिएर तेर्सो गरी चिप्लिने, दुई प्लेट टाढा जाने र एक प्लेट अर्कोमुनि घुस्ने क्षेत्र पर्दछन्।

जसमा नेपाल पनि एक हो जुन इन्डियन प्लेटको माथि रहेको छ। त्यसैले यहाँ नियमितजसो कहीँ न कहीँ थाहै नपाइने, साना र ठूलामध्ये कुनै न कुनै प्रकारका भुईंचालो गइरहन्छन्।

करिब पाँच करोड वर्ष पहिले दक्षिणतर्फबाट आइरहेको इन्डियन प्लेट उत्तरमा रहेको युरेसिएन प्लेटसँग ठोक्किन पुगेको विश्वास प्राविधिकहरूको छ।

उक्त ठोक्काइपछि पनि इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम रोकिएको छैन। इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम तिब्बत र नेपालबीचमा भने प्रतिवर्ष एक इन्चका दरले चालू छ।

सम्बन्धित खबरहरु