काठमाडौ । सोमबारको घटनापछि बुद्ध एयरको बदमासी बाहिर आएको छ ।

काठमाडौंबाट विराटनगरका लागि उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण गर्न खोज्दा ल्याण्डिङ गियर नखुलेपछि आएको हंगामाले यस्तो रहस्य खुलाएको हो ।

ल्याण्डिङ गियर नखुलेका कारण विमान फेरि काठमाडौं नै फर्किएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सहजै अवतरण हुन सक्ने अवस्था थिएन ।

८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया विमान विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएरपनि धेरै बेर फन्का लगायो ।

भगवान भरोसा नै भन्नुपर्छ आकाशमा धुमिरहँदा ल्याण्डिङ गियर खुलेको अनुमान गरिन्छ । खुलेको संकेत नदेखिने भएपछि क्याप्टेनले दुर्विन लगाएर हेरेर एकिन गरिदिन बारम्बार भन्नुभएको थियो ।

तर कसैले एकिन गर्न सकेका थिएनन् । तर भगवान पशुपतिनाथकै साथ हुनुपर्छ इन्धन सकिनुभन्दा केही अघि मात्र विमानको ल्याण्डिङ गियर खुलेको देखियो ।

त्यो बेलासम्म काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएको उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर १६ मिनेटमा सुरक्षित अवतरण भएको थियो।

विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बनिरहेका वेला विमानलाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर पनि खुलेको देखिएपछि विमानको सहज अवतरण सम्भव भएको विमानस्थलका अधिकारीहरु बताउँछन् ।

विमानमा ७३ यात्रु र चालकदलका ४ सदस्यसहित ७७ जना सवार थिए । विराटनगरदेखि समस्या देखिएको विमान काठमाण्डौंमा आउँदा समेत अवतरण हुन नसकेपछि यात्रुहरु डराए । यात्रुहरुको रुवावासी चलेको थियो ।

विमानस्थलमा सुरक्षाकर्मी, एम्वुलेन्स र दमकलसहित तयारी अवस्थामा देखेपछि यात्रुले ‘अब जिन्दगी यति रछ’ भन्ने लागेको अनुभव मिडियामा खुलाएका छन् । ‘ढोका खोल्दिनुस्, हामी हाम फाल्छौं पनि भन्यौं,’ यात्रु प्रताप लिम्बुका अनुसार–‘एयर होस्टेजहरुले तपाईंलाई सक्दो बचाउने कोसिस गर्छौं ।

इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउँदा कसैको होस हवास थिएन ।
विमानमा ४–५ जना यात्रु वेहोस भएका थिए । ‘जहाजमा भएका आमा बच्चा र पाका मानिसहरु आत्तिएर रुन थालेपछि सबैले जीवन माया मार्नुपर्ने अवस्था थियो ।

यस्तो जटिल अवस्थामा पनि यात्रुलाई सकुसन अवतरण गराउने जहाजका क्याप्टेन आङ गेलु शेर्पा हुनुहुन्थ्यो । उहाँले कुनै हिम्मत हार्नुभएन अनेकौँ विकल्पमापनि आफू बाँच्ने र अरुलाई बचाउँने बाचा गर्नुभयो । उहाँले ३ शिशु, २ बालबालिका र वयस्क गरी ७३ यात्रुलाई सुरक्षित अवतरण गराएर नयाँ जीवन दिनुभयो ।

काठमाडौंबाट १८ सय किलोग्राम इन्धन राखेर उडेको जहाजले विराटनगरबाट फर्किने इन्धन पनि यतैबाट भरेर उडेको थियो । यदि ल्यान्डिङ गियर नखुलेको भए यसले अकाशमा उडेरै इन्धन नष्ट (फ्युल–बर्न) गरी फममा आपत्कालीन अवतरण गर्ने योजना बनाएको थियो ।

फम चिप्लो पदार्थ हो । पाङ्ग्रा नखुलेमा फायर ट्रकको माध्यमले धावनमार्गमा फम पोखेर जहाजको बेली (जहाजमुनिको भाग) ले घर्षण गराई अवतरण गराइन्छ ।

आठौं पटक धावनमार्गमाथिबाट उड्दा भने एटीसी र धावनमार्ग आसपासमा उभिएका सुरक्षाकर्मीले जहाजको सबै पाङ्ग्रा खुलेको देखे । त्यसपछि भने क्याप्टेन शेर्पाले जहाजलाई अवतरण गर्ने योजना बनाउनुभयो ।

उहाँलाई अनुमति पनि दिइयो । प्रारम्भिक अनुमानअनुसार ल्यान्डिङ गियर खुलेको तर ककपिटमा रहने दुई इन्डिकेटरमध्ये एउटाले खुलेको, अर्कोले नखुलेको देखाएका कारण चालकदलले विराटनगरमा अवतरण नगरेको देखिन्छ । जे होस आङ गेलुको धैर्यता र साहसका कारण यात्रुले सकुसल अवतरण गर्न पाएको वताईन्छ।

सोमबार बिहानै पोखराका लागि उडेको बुद्धकै अर्को एटीआर–७२ जहाजको कार्गो कम्पार्टमेन्टमा ग्यास भरिएको संकेत ककपिटमा देखिएको थियो । उक्त जहाज पनि बीचबाटोबाटै फर्किएको थियो । बुद्ध एयरकै अर्को जहाज काठमाडौं–धनगढी उडानमा रहँदा आईतवार त्यस्तै समस्या देखिएको बताइन्छ ।

यतिमात्र होईन, वुद्ध एयरमा पछिल्लो समय धेरै नै समस्या देखिन थालेका छन् । १५ दिनअघि मात्रै नेपालगञ्ज गएका एक यात्रु बुद्ध एयरमा देखिएको गडवडी र समस्याका कारण फर्किदा यती एयरलाईन्सवाट फर्केको जानकारी दिनुहुन्छ ।

‘वुद्धका अधिकांश विमान पुराना र थोत्रा छन् । पुरानो बस÷ट्रकबाट आउने जस्तै आवाज विमानमा सुनिन्छ। टेक–अप, र ल्यान्डिङको समयमा पनि अनौठो आवाज आउने गरेको छ। मर्मत गर्ने र भयरहित विमान चलाउने विषयमा वुद्धको लापर्वाही पहिलैदेखि देखिएको हो ।’ उसले धेरै उडान भर्ने विमान मर्मतमा ध्यान नदिने भएकाले ठूलै क्षति व्यहोर्नुपर्ने देखिन्छ ।

वुद्धले अहिले जम्मा १५ वटा विमान सञ्चालन गरिरहेको छ। वि १९०० डी (Beechcraft 1900D) २ वटा, एटिआर ४२–३२० ३ वटा र एटिआर ७२–५०० १० वटा गरी जम्मा १५ वटा विमान सञ्चालनमा रहेको वुद्ध एयरका कम्युनिकेशन म्यानेजर दिपक कर्णले जानकारी दिनुभयो ।

कतिपय विमान १५–२० वर्षदेखि सञ्चालनमा रहेको कम्पनीले नै स्वीकार गर्छ । तर, कति वटा विवमान पुराना र कति वटा नयाँ छन् भन्ने विषयमा भने कम्पनी खुलाउँन चाहाँदैन । किनकी विमान नै पुराना समेत ल्याइएको छ । अरु ठाउँबाट पुराना भएर थन्क्याईएका विमान ल्याईएको छ ।

 

सम्बन्धित खबरहरु