काठमाडौ । नेपाली सैनिक वार कलेज नगरकोटमा Higher Command and Management Course सि.सं. १० का तालिमरत महासेनानी ३१ जना र प्रमुख सेनानी ४ जना गरी ३५ जना अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ ।

सो क्रममा उहाँहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो ।

अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भ्रमणको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी संगठनको इतिहास एवम् कार्य प्रकृति सम्बन्धी यथेष्ट जानकारी हासिल गरेको विश्वास व्यक्त गर्नुभयो । समाजमा शान्ति सुरक्षा स्थापना गर्न तथा अपराध अनुसन्धान एवं नियन्त्रण प्रहरीको प्रमुख दायित्व रहेको उहाँले चर्चा गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीप्रति जनताको अपेक्षा धेरै हुने हुनाले जघन्य लगायतका अपराध नियन्त्रण एवं प्रहरीलाई सुम्पिएको जिम्मेवारी निर्वाह गर्न स्थानीय तह तथा समुदायसँग समेत समन्वय गर्दै अगाडि बढेको उल्लेख गर्नुभयो । खुल्ला सिमानाका कारण हुने गरेका सिमावर्ती अपराध नियन्त्रणका लागि समेत प्रहरी संवेदनशील रहेको उहाँले बताउनुभयो ।

अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी रुपमा एक आपसमा सहयोग हुने चर्चा गर्नुभयो ।

प्रहरी समायोजन कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै त्यसमा देखिन सक्ने समस्या तथा चुनौतिको समेत विश्लेषण गरी आवश्यक तयारी भईरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरले भ्रमण टोलीको स्वागत गर्नुहुँदै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियो ।

नेपाली सेनाका महासेनानी सन्तोष कार्कीले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक सविन प्रधानले नेपाल प्रहरीको काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

उक्त अवसरमा नेपाली सेनाका सहायक रथीहरु प्रेमध्वज अधिकारी, सागर बहादुर थापा, प्रेम पुन र टंक प्रसाद भट्ट, प्रहरी नायव महानिरीक्षक वसन्त कुमार लामा लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु