काठमाडौं । सरकारले विदेश घुम्न जाने नेपालीले साथमा लैजान पाउने विदेशी मुद्राको सीमा घटाएको छ ।

बिहीबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै युरोपका विभिन्न मुलुकहरू, अमेरिका, जापान र कोरिया घुम्न जाने नेपालीको हकमा पाँच सय अमेरिकी डलर साथमा लैजान पाउने भएका छन् ।

त्यस्तै, खाडी मुलुक मलेसिया, सार्क राष्ट्र र थाइल्याण्डको हकमा न्यूनतम २५० डलर र माथि उल्लेखित बाहेकका मुलुकको हकमा पाँच सय डलर साथमा लैजान पाउनेछन् ।

गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिस्तरीय निर्णय अनुसार अध्यागनम कार्यविधि, २०६५ संशोधन गर्नुभएको हो । संशोधित प्रावधान कार्यान्वयन गर्न बिहीबार गृह मन्त्रालयले विभागलाई पत्राचार गरेको छ ।

घुम्न जाने व्यक्तिका लागि विदेशमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको कागजात भएमा डलर साथमा राख्न पाइने व्यवस्थालाई वैकल्पिकमा राखेको छ ।

यसअघि विदेश घुम्न जाने नेपालीले वाणिज्य र विकास बैंकबाट विदेशी मुद्रा सटही गर्न पाउने व्यवस्था थियो । तर अब ‘क’ वर्गका बैंक (वाणिज्य) बैंकबाट मात्रै मुद्रा सटही गर्न पाइने व्यवस्था ल्याइएको गृहले जनाएको छ ।

मुद्रा सटही गर्दा विदेश जाने व्यक्ति स्वयं उपस्थित भएर आम्दानीकाे स्रोत खुलाउनु पर्नेछ । यसका लागि गृहले अध्यागमन कार्यविधिको दफा ३ (१)को उपदफा २ को खण्ड घ पछि घ (१) बुँदा थप गरेको छ ।

उक्त बुँदामा ‘विदेशी मुद्रा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त ‘क’ वर्गको बैंकबाट सटही गर्ने र सटही गर्दा भ्रमणमा जाने व्यक्ति स्वयं उपस्थित भई अनिवार्य रुपमा आयस्रोत खुलाउनु पर्नेछ,’ भनिएको छ ।

सम्बन्धित खबरहरु