काठमाडौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल) ले जनताको बहुखलिय जनवाद ( जबज ) अहिले पनि सान्दर्भिक भएको बताउनुभएको छ ।

उहाँले जननेता मदन भण्डारी विश्व कम्युनिष्ट कै महान नेता भएको उल्लेख गर्नुभएको हो ।

बिहीवार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको र यो नै एमालेको मार्गदिशा भएको प्रष्ट पार्नुभयो ।

उहाँले जबजमा रहेका समाजवादमा संक्रमण गर्ने कार्यक्रमहरु लागू हुनुपर्ने बताउनुभयो ।

उहाँले महाधिवेशनले सिद्धान्तको निर्माण गर्ने बताउँदै नेता बादलले महाधिवेशनले देश र समाजको दीर्घकालीन सोच र परिवर्तन तथा नेपाल र नेपालीको भविष्यको विकास गर्ने स्पष्ट पार्नुभयो ।

महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संसोधन प्रतिवेदन पेस हुने बताउँदै उहाँले उत्पादक शक्ति र राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रमहरु जबजमा रहेको स्पष्ट पार्नुभयो ।

थापाले भन्नुभयो, ‘जबजको कार्यक्रमा त्यसबेला जनवादको कार्यक्रम थियो र समाजवादमा संक्रमण गर्ने कार्यक्रम पनि थियो, त्यसैले तीनवटा कार्यक्रमका विशिष्ट रुपहरु नै जबजको कार्यक्रम हो ।’

उहाँले जबजबारे स्पष्ट पार्दै थप भन्नुभयो, ‘जनवादी क्रान्ति सम्पन्न गरेर गणतन्त्रको स्थापना गरिसकेपछि सामन्तवादका अवशेषहरूको अन्त्य गर्ने कार्यक्रमहरु लागू गर्नुपर्छ भन्ने कुरा त्यसैबेला तय गरिएको थियो जननेता भण्डारीले त्यसलाई केन्द्रमा राखेको विषय नै जबजको कार्यक्रमको हो ।

यो २०४९ सालको कुरा हो, यसलाई पाँचौँ महाधिवेशनमा मदन भण्डारी कमरेडले प्रस्तुत गर्नुभएको थियो ।

दोस्रो, क्रान्तिकारी उपलब्धिहरुलाई सुदृढ गर्ने र नेपाललाई द्रुत गतिमा विकास गर्दै राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रम भएकाले अहिलेपनि सान्दर्भिक छ उहाँले बताउनुभयो ।

थापाले एकैपटक समाजवादी क्रान्ति सम्पन्न गर्न नसक्ने हुनाले त्यसका लागि पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘समाजवादमा अघि बढ्नको निम्ति त्यसको पूर्वाधारहरु विकास गर्न जरुरी हुन्छ, त्यसका भौतिक, आर्थिक पूर्वाधारहरु विकास गर्न जरुरी छ, त्यसकारण राजनीतिक उपलब्धिहरुलाई सुदृढ गर्ने र देशको राष्ट्रिय पूँजीको विकास गर्ने कुराहरुलाई अगाडि सारिएको थियो, त्यो अहिले पनि सान्दर्भिक छ र अहिले पनि उत्पादक शक्ति र राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रमहरु अघि लिएर जानुपर्छ ।’

स्थायी कमिटी सदस्य थापाले प्रतिवेदनमा अबको समाजवादको निर्माण कुन विचारधारा, सिद्धान्तले गर्न सक्छ र सही सिद्धान्त, सही विचार, के हो भन्ने कुराको संश्लेषण गरिएको बताउनुभयो ।

उहाँले विगतमा जनवादी क्रान्तिको आन्दोलनको वैचारिक मार्गदर्शन जबजले गरेको बताउनुभएको थियो ।

सम्बन्धित खबरहरु