काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विधान महाधिवेशन आजदेखि शुरु गर्ने भएको छ ।

नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्न गर्न लागेको प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

विधान महाधिवेशन तीन दिनसम्म ललितपुरको गोदावरीमा चल्ने एमालेले जानकारी दिएको छ ।

ऐतिहासिक मानिएको नेकपा (एमाले) को विधान महाधिवेशनको आज हुने उद्घाटन सत्रलाई पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

पार्टीभित्र देखिएको अन्तरविरोध र अस्थिरताका कारण सरकारको नेतृत्वबाट बाहिरिएर प्रमुख प्रतिपक्षी भएको संसद्को ठूलो दल एमालेले करिब छ हजार प्रतिनिधिलाई सहभागी गराएर गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो ।

आगामी मङ्सिरको दोस्रो साताका लागि नेतृत्व चयनका लागि पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशनलाई समसामयिक राजनीतिक दलहरुमध्ये मौलिक विशेषताको भेला मानिएको छ । एमालेको गत २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो ।

उद्घाटन सत्रपछि महाधिवेशनको बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ ।

महाधिवेशनको दोस्रो दिन यही असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।

सम्बन्धित खबरहरु