काठमाडौं । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले जेल सजायको फैसला गरेको छ । सन् २०१२ मा राष्ट्रपतिमा आफु पुनः निर्वाचित हुनका लागि सहयोग पुग्नेगरी चलाइएको अभियानमा अवैधानिक रुपमा सहयोग गरेको आरोप उहाँमाथि लगाइएको थियो ।

सोही आरोपका आधारमा अदालतले उहाँलाई दोषी ठहर गर्दै एक बर्ष कारागार राख्नुपर्ने सजाय बिहीबार सुनाएको हो । सार्कोजी संलग्न भएको गलत ठानिएको यो दोस्रो घटना हो ।

यसअघि अर्को एउटा प्रकरणमा पनि उहाँको संलग्नता पुष्टि भएको थियो । त्यो घटनाका कारण ६६ बर्षीय सार्कोजीलाई गत मार्चमा तीन बर्षे जेल सजाय तोकिएको छ ।

यसअघि फ्रान्सका एकजना न्यायाधीशले भूतपूर्व राष्ट्रपति निकोला सार्कोजीलाई चुनावी अभियानमा गैरकानुनी लगानी गरिएको एउटा आरोपका सम्बन्धमा मुद्दाको सामना गर्ने आदेश दिएका थिए । सार्कोजीमाथि सन् २०१२ को चुनावी अभियानमा गलत हिसाब देखाएर २ करोड डलर लुकाएको आरोप लागेको हो ।

सार्कोजीले त्यस्तो अत्यधिक खर्च भएको जानकारी आफुलाई नभएको र मुद्दाको सामना गर्ने आदेशका विरुद्ध अपील गर्ने बताएका थिए । सन् २०१२ को निर्वाचन उनले हारेका थिए र यस वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिने प्रयासमा विफल भए ।

त्यो समयमा युएमपी भनिने सार्कोजीको पार्टीले एउटा जनसम्पर्क कम्पनीसंग मिलेर सन् २०१२ को चुनावी अभियानको खास खर्च लुकाएको दावी गरिएको थियो ।

सम्बन्धित खबरहरु